थुनुवा बोकेको कारागारको गाडीले मोटरसाइकललाई ठक्कर दियो, एक किशोरको मृत्यु

थुनुवा बोकेको कारागारको गाडीले मोटरसाइकललाई ठक्कर दियो, एक किशोरको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूकुम पश्चिम– रूकुम पश्चिममा थुनुवा बोकेको जिल्ला कारागार कार्यालयको भ्यान र मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक आठबिसकोट–१० का २० वर्षीय गणेश शाहीलाई थप उपचारका लागि नेपालगञ्जस्थित न्युरो अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार कारागारको भ्यान रूकुम पूर्व जिल्ला अदालतमा थुनुवालाई साक्षी बयानका लागि पुर्‍याएर रूकुम पश्चिम फर्किंदै थियो । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल गलत लेनमा प्रवेश गर्दा दुर्घटना भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।