अछाममा एमालेलाई लाग्यो झट्का, १ हजार बढीले गरे भीम रावललाई समर्थन (नामसहित)

अछाममा एमालेलाई लाग्यो झट्का, १ हजार बढीले गरे भीम रावललाई समर्थन (नामसहित)


काठमाण्डु- अछाममा एमालेका १ हजार ८६ जना बढी कार्यकताहरूले पार्टीबाट निष्कासित नेता भीम रावललाई समर्थन गरेका छन् । उनीहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै रावलको अभियानमा लागेको बताएका छन् ।

१ हजार ८६ मध्ये पाँच जनाबाहेक सबै एमालेका छन् । रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना छन् ।

यस्तै, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरू ६ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित १ हजार ८६ जना छन् ।

पत्रकार सम्मेलनमा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले हाललाई एमाले परित्याग गरेको नभई मातृभूमि जागरण अभियानलाई समर्थन गरेको दाबी गरे । दलविहीन बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल अहिले गृहजिल्ला अछाममा छन् । उनलाई एमालेले पुस ११ गते साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

रावलको अभियानले सुदूरपश्चिममा एमालेलाई ठूलै झट्का लाग्ने सम्भावना छ । रावलले एमालेलाई धक्का दिने गरी अभियान चलाएर केही समयपछि पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।