पूर्वआईजी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना

पूर्वआईजी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले कर्तब्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्नेहरुका सन्तानलाई प्रोत्साहन गर्ने हेतुले छात्रवृत्ती प्रदान गर्ने सम्झौता गरेका छन् ।

खरेलले कर्तब्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्ने प्रहरी जवान, प्रहरी हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकका सन्तान मध्ये एक छोरी र एक छोरालाई जनही तीस हजारको छात्रवृत्ती सहित सम्मानपत्र प्रदान गर्ने भएका हुन् ।

प्रहरी संगठनसमक्ष पूर्व आईजीपी खरेलले गरेको सम्झौतामा ११ लाखको अक्षयकोष स्थापना गर्ने उल्लेख छ । ६५ औं प्रहरी दिवसको अवसरमा पूर्वप्रहरी महानिरीक्षक खरेलले प्रहरी संगठनसमक्ष यस्तो सम्झौता गरेका हुन् ।

‘अच्युत–मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि पूर्व महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ ।

साथै, उनको देहवसानपछि अच्युत–मिनाका सन्तान डा.आयुष र डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने पनि सहमती पत्रमा सम्झौता भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

पूर्व प्रहरी महानिरीक्षक खरेल नेपाल प्रहरीसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पहिलो व्यक्ति हुन् । यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा पूर्व प्रहरी महानिरीक्षक खरेलले संगठनका जवान, हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका छन् ।

त्यसैगरी, २०५७ सालमा अवकाशमा गएका खरेलले तत्काल प्राप्त मासिक पेन्सन आठ हजार पाँच सय ११ रुपैयाँ समेत संगठनका सिपाही, हवलदारका गरिव एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गर्ने भएका छन् ।