काठमाण्डु – जेष्ट नागरिक,अशक्त तथा अपांगता भएकाहरुलाई घर घरमै गएर कोरोनाविरुद्धको खोप प्रदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ ।
वडा स्तरबाट लगत संकलन गरी सोही अनुसार खोप केन्द्र पुग्न नसक्नेहरुलाई खोप सेवा उपलब्ध गराउन सरकारका नाममा आदेश जारी गरेको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिडडुल गर्न नसक्ने, अस्पतालले पहिभान गरेको दीर्घ रोगी तथा फरक क्षमता भउका, दुवै आँखा नदेख्ने व्यक्तिहरुसमेतका लागि राज्यले वडा वडास्तरबाट लगत संकलन गरी वा उपयुुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहको लागि कार्यक्रम संचालन गर्नु गराउनु भनी सर्वाेच्च अदालतको नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरिएको छ ।’




प्रतिक्रिया