काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारदेखि सबै मुद्दाको पेसी तोक्ने तयारी गरेका छन् । सोमबार आफ्नोसहित दुईवटा एकल र चारवटा संयुक्त इजलास तोकेका राणाले मंगलबारदेखि सबै मुद्दाको पेशी तोक्ने तयारी गरेका हुन् ।
कात्तिक ८ देखि बेन्चसमेत बहिष्कार गरेर सर्वोच्चका न्यायाधीशहरु आन्दोलित छन् । १५ दिनदेखि बन्दी प्रत्यक्षीकरणबाहेकका सबै मुद्दाको सुनुवाइ नहुँदा हजारौँ पीडितले न्याय पाउने प्रक्रिया अहिले ठप्प छ । यस्तो अवस्थामा राणाले अब पेलेरै अघि बढ्ने रणनीति बनाएका हुन् ।
स्रोतका अनुसार सर्वोच्चमा सबै काम ठप्प हुँदा सेवाग्राही मारमा परेकाले राणा पेलेरै जाने निष्कर्षमा पुगेका हुन् । यसअघि आन्दोलित न्यायाधीशहरूसँग राणाले आफ्नोमा पेशी नतोक्ने सहमति जनाएका थिए ।
राणाले एक हप्तादेखि बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दाको पेशी तोक्दै आएका छन् । न्यायाधीशहरुको आन्दोलन जारी रहे पनि सर्वोच्चका न्यायाधीशहरु पछिल्लो समय विभाजित भएका छन् । मुद्दा नै नहेर्ने गरी चलाउने आन्दोलनप्रति सर्वोच्चका कनिष्ठ न्यायाधीशहरूले असहमति जनाइरहेका छन् ।
वरिष्ठ न्यायाधीशहरु आन्दोलन गर्ने पक्षमा भए पनि कनिष्ठ न्यायाधीशहरु मुद्दाको सुनुवाइ गर्ने पक्षमा उभिएको अवस्थामा प्रधानन्यायाधीश राणाले पेलेर अघि बढ्ने तयारी गरेका हुन् । सर्वोच्चमा न्यायाधीशहरुको आन्दोलनका कारण दैनिक साढे ३ सयभन्दा बढी मुद्दाको सुनुवाइ रद्द हुने गरेको छ ।
यसैबीच सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडालले सोमबार बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नोमा समेत पेसी तोकेपछि अन्य न्यायाधीशले बहिष्कार गरेको अवस्थामा चुँडालले भने बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ गरेका हुन् ।
उनले बन्दी प्रत्यक्षीकरणको एकल इजलासमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश पनि जारी गरिसकेका छन् । तर असन्तुष्ट न्यायाधीशहरु भने इजलास बसेका छैनन् ।




प्रतिक्रिया