एआईजी बढुवाविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा


काठमाण्डु – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।

एआईजी बढुवा गर्दा विभेद गरेको भन्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्की लगायतले दायर गरेको रिटको न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको हो ।

यही १७ चैतमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो ।

तर, उनीहरूभन्दा वरीयतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए । पाण्डे नेतृत्वको समितिले वरीयता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement