काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसनले सुरु गरेको आन्दोलन २१औँ दिनमा प्रवेश गरेको छ ।
१४ कात्तिकदेखि जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिँदै आएको बारले आजदेखि आन्दोलन थप सशक्त बनाउने बताएको छ ।तेस्रो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आज देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम छ ।
जवराले राजीनामा नदिएपछि साताव्यापी रूपमा थप संघर्षका कार्यक्रम बारले सार्वजनिक गरेको हो । प्रधानन्यायाधीश जबराको वार्ताको प्रस्ताव अस्वीकार गरी बारले थप आन्दोलन गर्ने निर्णय गरेको हो ।
राजीनामा नदिएसम्म कुनै वार्ता नगर्ने नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । यस्तै सर्वाेच्चमा कानुन व्यवसायीमाथि भएको दमनलाई पनि बारले आफ्नो एजेन्डा बनाएको छ ।
कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी ठूलो संख्यामा तैनाथ गरी हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा कानूनव्यवसायिहरु थप आन्दोलित बनेका छन् ।
बारले प्रधानन्यायाधीशले कार्यपालिकामा भाग मागेको, संवैधानिक नियुक्तिमा भागबन्डा गरेको, गैरन्यायिक आचरण देखाएको, न्यायमा विचलन ल्याएकोजस्ता आरोप लगाउँदै राजीनामा माग गरिरहेको छ ।
सर्वोच्चकै न्यायाधीशहरूले पनि उनीसँगै कुनै पनि इजलासमा बस्न चाहेका छैनन् भने उनलाई प्रधानन्यायाधीशको हैसियतले मुद्दा तोक्न पनि रोक लगाउने गरी गोलाप्रथा नियमावली पारित गरिसकेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत भोली देशभरका सबै अदालतमा १० बजेदेखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना दिने जनाइएको छ ।




प्रतिक्रिया