प्रधानन्यायाधीशले तोके आफुबाहेक १२ इजलास

प्रधानन्यायाधीशले तोके आफुबाहेक १२ इजलास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी ताकेका छन् । सोमबारका लागि एउटा एकल र ११ वटा संयुक्त इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

उनले १२ वटा इजलासमा ४५४ वटा रिट तथा मुद्दाको पेसी तोकेका हुन् । केही समययता न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने बताएपछि उनले आफू बाहेकको इजलास गठन गर्दै आएका छन् ।

गत बुधबार सर्वोच्च अदालतको फूलकोर्ट बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर, उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएकाले गोलाप्रथा सुरु हुन सकेको छैन ।

यता प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । प्रधानन्यायाधीशविरुद्धको तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।

न्यायालय सुधारका लागि भन्दै न्यायाधीशहरु राणाको राजीनामा माग्दै कात्तिक १४ देखि आन्दोलनरत छन् । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ ।

आइतबार कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका थिए । सर्वोच्च अदालत परिसरभित्र शान्तिपूर्ण धर्ना कार्यक्रममा अवरोध गर्न सशस्त्र र दंगा प्रहरी परिचालन गरेको भन्दै उनीहरूले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन् ।