हावाहुरीबाट प्रभावित बारा र पर्सामा उद्धार कार्य जारी

हावाहुरीबाट प्रभावित बारा र पर्सामा उद्धार कार्य जारी


बारा – आइतबार राति आएको भीषण आँधीले वारा र पर्सामा भएको क्षतिको लगत संकलन र उद्धारका कार्यहरु धमाधम भइरहेको छ ।असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति र्पुयाउँदा ठूलो संख्यामा मानवीय क्षाित भएको छ ।

आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।भण्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घरहरु भत्किएका छन् । सयौं कच्ची घरका छानाहरु आँधीले उडाएको छ ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ ।त्यसैगरी भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा धेरै मानवीय क्षति भएको छ ।घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि प्रहरी, सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएको थियो ।

उद्धारकार्य अहिले पनि जारी छ । घाइतेहरुको वारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिरहेका छन् । हावाहुरीमा परी कम्तिमा २७ जना व्यक्तिको मृत्यु भइसकेको छ भने बारामा मात्रै २६ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । ६ सय भन्दा धेरै व्यक्तिहरु घाइते भएका छन् ।