काठमाण्डु –सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेश फास्टट्रयाकमा पारित गर्ने निर्णय मन्त्रिपरिषद् बैठकलले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसद् सचिवालयमा दर्ता गरिसकेका छौँ,’ मन्त्री गुरुङले भने, ‘ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुन्छ।’
गुरुङले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए।
सरकारले संसद् छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारेको छ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गुरुङले अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको बताए ।
मुलुकको आवश्यकताको लागि, सुशासन प्रवर्धनका लागि र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यादेश ल्याइएको गुरुङले बताए । सरकार संसद् छलेर नभागेको र संसद्मा पेस गरेर पारित गरिने जानकारी दिए ।
सरकारले ल्याएको अध्यादेश संसद्बाट फास्ट ट्रयाकबाट पारित गरिनेगरि संसद् सचिवालयमा दर्ता गरिएको गुरुङले बताए ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।




प्रतिक्रिया