काठमाण्डु – सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका गरी १५ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख राजीव पोखरेल श्रम मन्त्रालयमा सरुवा भएका छन् ।
गत महिना सामान्यका सचिव एकनारायण अर्यालको श्रममै सरुवा भएको थियो । पोखरेलको ठाउँमा सहसचिव रघुराम विष्ट आएका छन् । उनी विगतमा स्वास्थ्य मन्त्रालय र सूचना विभागमा काम गरिसकेका छन् ।
मधेसी आयोगमा रहेका लोकनाथ पौडेल काठमाण्डु महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । त्यसैगरि कामपाको प्रमुख प्रशासकीय अधिकृत रहेका राजेश्वर ज्ञवालीलाई मन्त्रालयको अतिरिक्त समूहमा लगिएको छ ।
सामान्यको अतिरिक्त समूहमा रहेका देवराज जोशीको उद्योग मन्त्रालयमा सरुवा भएको छ । आदिवासि जनजाति आयोगमा रहेका भोला दहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । अख्तियारका सहसचिव नीराजन घिमिरे दलित आयोगमा सरुवा भएका छन् ।
त्यस्तै प्रदेश नम्बर १ को सामाजिक मामिला मन्त्रालयमा सचिव रहेका कमल भट्टराईको अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणकी सहसचिव यमुना प्रधानलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शंकर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । नेपालको ठाउँमा कलैया उपमहानगरपालिकाका तीर्थ चिलवाललाई पठाइएको छ ।
गुणस्तर तथा नापतौल बिभागका महानिर्देशक विश्व बाबु पुडासैनी बाग्मति प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भएका छन् । त्यसैगरी गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सचिव रहेका ध्रुव गौंडा बाग्मति प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । बुधबार सरुवा गरिएका उनीहरुले बिहीबार पत्र बुझेका छन् ।




प्रतिक्रिया