महाअभियोग लाग्ने डरले न्यायाधीशहरु नेताको दास बनेः वरिष्ठ अधिवक्ता भण्डारी

महाअभियोग लाग्ने डरले न्यायाधीशहरु नेताको दास बनेः वरिष्ठ अधिवक्ता भण्डारी


काठमाण्डु – वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले महाअभियोगको डरले न्यायाधीशहरु नेताको दासजस्तै बनेको टिप्पणी गरेका छन् ।

संवैधानिक इजलासमा संसद विघटनको सन्दर्भमा बहस गर्दैगर्दा अधिवक्ता भण्डारीले महाअभियोग लाग्ला कि भन्ने डरले न्यायाधीशहरु डराउँदै नेताहरुको कुरा मानिरहेको बताएका हुन् ।

‘न्यायाधीशहरू नेताको दासजस्तै बनेका छन् । महाअभियोग लाग्ला कि भनेर डराउँदै नेताको कुरा मानिरहेका छन्’, उनले भने ।

उनले प्रधानमन्त्री केपी ओलीले ‘छोरी कुटेर बुहारी तर्साउने’ काम गरेको टिप्पणी गर्दै संसद् विघटन गरेर ओलीले नागरिकको सार्वभौमसत्तामाथि प्रहार गरेको बताए ।

जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभाको के कसुर थियो र विघटन गर्नुपर्‍यो भनेरवरिष्ठ अधिवक्ता भण्डारीले प्रश्न समेत गरेका थिए ।

‘प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचिएको छ,’ उनले भने, ‘छोरी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन् । उनले पार्टीका मान्छेलाई देखाइदिन संसद विघटन गरे । संसदको के कसुर थियो ? ।’

नागरिकको सार्वभौमसत्ताका अगाडि केपी ओली कोही नभएको भन्दै भण्डारीले भने, ‘मेरो सार्वभौमसत्ताका अगाडि ओलीको आधिकार केही होइन ।’ त्यस्तै  उनले प्रधानमन्त्री अ‍ोलीले काम गर्न नदिनेलाई कारबाहीको अधिकार भएको बताए ।

‘प्रधानमन्त्रीले काम गर्न दिइएन भन्नुहुन्छ काम गर्न नदिनेलाई कारबाही गर्न सक्नुहुन्छ नि,’ उनले भने, ‘उहाँले जनताको वारेसको विश्वासमा काम गर्नु पर्छ । जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो । संसदै विघटन गरिदिनु भयो ।’