एजेन्सी – तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार कब्जा गरेको छ । कान्दाहार सहर कब्जा गरेसँगै तालिबानले आफ्ना लागि ठूलो पिजत भएको जनाएको छ ।
यो शहर कुनै समय तालिबानको गढ थियो । रणनीतिक रुपमा उक्त सहर एक प्रमुख व्यापार केन्द्रको रूपमा महत्वपूर्ण छ । एक स्थानीय सरकारी अधिकारीले रोयटर्स समाचार एजेन्सीसँग भने, ‘हिजो राती ठूलो भीडन्तपछि तालिबानले कान्दाहार शहर नियन्त्रण लिए ।’
तालिबानले अहिले उत्तरी अफगानिस्तान र देशको एक तिहाई क्षेत्रीय राजधानीहरुलाई नियन्त्रणमा लिएको छ । विद्रोहीहरुले नयाँ क्षेत्रहरु कब्जा गरीरहेका बेला अमेरिका र अन्य विदेशी सेनाहरु २० बर्षपछि फिर्ता भएका छन् ।
यसैबीच, अमेरिकाले दूतावासबाट आफ्ना कर्मचारीहरुलाई फिर्ता ल्याउन अफगानिस्तानमा झण्डै ३ हजार सैनिक पठाउने योजना बनाएको जनाएको छ ।
अमेरिकाले काबुलको एयरपोर्टमा सेना पठाउन लागेको हो । दूतावासका कर्मचारीलाई विशेष उडानमार्फत फिर्ता ल्याउन लागिएको अमेरिकाले जनाएको छ ।
बेलायतले भने छोटो समयको आधारमा करिब छ सय सैनिकहरु तैनाथ गरिरहेको जनाएकाे छ । साथै चीन, अमेरिका, भारतसहितका राष्ट्रहरुले युद्धविराम गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया