काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएपछि भूमिगत गतिविधि सञ्चालन गर्दै आएको विप्लव नेकपाका नेता कार्यकर्ता आफैंले बोकेको बम आफ्नै लागी प्राणघातक बनीरहेको छ ।
करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन् । जेठ १२ मा काठमाडौंको सुकेधारा र घट्टेकुलोमा एकै समयमा विष्फोटका घटनाहरु भए। यी २ विस्फाटनमा चार जनाको मृत्यु भयो। मारिने सबै चन्द नेतृत्व नेकपाका कार्यकर्ता थिए। यसैगरी, सोही दिन नै थानकोटमा आफैंले बोकेको बम विस्फोटमा परी घाइते भएका अर्का एकको समेत निधन भएको थियो ।
५२ दिनपछि गत बिहीबार धनगढीमा नेकपाका कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’को आफैंले बोकेको बम विस्फोट हुँदा मृत्यु भयाे। सो विस्फोटमा अर्का एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।
सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएपछि मारिने ९ कार्यकर्तामध्ये ६ जनाको मृत्युको कारण आफूसँगै रहेको बम हो। बाँकी प्रहरी ‘इन्काउन्टर’मा मारिएका बताइएको छ। दुई महिनाभित्रै भएको धनगढी घटनाले विप्लव समूहको कमजोरीलाई उजागर गरेको छ। त्यसले उनीहरुको रणनीतिको परिवर्तनको संकेत पनि गरेको छ। यी घटनाहरुले उनीहरुमा यथेष्ठ तालिम प्राप्त जनशक्ति अभाव रहेको समेत देखिन्छ।
विप्लव नेतृत्व नेकपालाई सरकारले लगाएको प्रतिबन्धपछि देशभर गरी १९ वटा विस्फोटका घटना भएको प्रहरीले जनाएको छ । यसबीचमा ९५ वटा बम निष्क्रिय पारिएको र १० स्थानमा आगजनी र तोडफोडका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रतिबन्धयता हालसम्म प्रहरीले विप्लव समूहका नेता कार्यकर्ताबाट विभिन्न प्रकारका गरी २३ नाल हतियारसमेत बरामद गरेको छ । यसैगरी, ४१७ राउन्ड गोली, ४ थान डेटोनेटर र ३१ मिटर डेटकर्ड सो समूहबाट बरामद भएको प्रहरीको तथ्यांकले देखाएको हो ।सरकारले प्रतिबन्धको घोषणा गरेपछि विप्लवका ५ सय ५० भन्दा बढी कार्यकर्ताहरु पक्राउ परेका छन्। शीर्ष नेतृत्वमा रहेका हेमन्तप्रकाश ओली सुदर्शनसहितका अन्य नेता कारागारमा छन्।




प्रतिक्रिया