महिला एशियन कप छनोटको निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान खेल्दै

महिला एशियन कप छनोटको निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले शनिबार उज्वेकिस्तानसँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

समूह एफमा रहेको नेपाल तीन खेलमा छ अङ्कसहित तालिकाको दोश्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ । शनिबार हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोश्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो ।

यस्तै उज्वेकिस्तानले पनि आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो । दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् ।

यदि खेलमा अङ्क र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सिधै पेनाल्टी सुटआउट हुनेछ । महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।