काठमाण्डु-अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको छ ।
सोमबार राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण गर्दा उक्त धन जनको क्षति भएको हो ।
स्थानीय टेलिभिजनका अनुसार, दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपरका धेरै स्थानहरूमा विस्फोट र गोलीबारी सुनिएको थियो।
अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै अस्पतालको ठूलो भाग ध्वस्त भएको छ । आगलागी नियन्त्रण गर्न र भग्नावशेषबाट शव निकाल्न उद्धार टोली खटिएको छ ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाएका छन् ।
यता पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई लक्षित नगरिएको बताएका छन् ।
पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानका विभिन्न स्थानमा गरिएको हवाई कारबाही सैन्य संरचना, प्राविधिक उपकरण भण्डारण स्थल तथा गोला–बारुद भण्डारणलाई लक्षित गरिएको दाबी गरिएको छ ।




प्रतिक्रिया