काठमाण्डु- नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन् । सांसद संग्रौलाले सामाजि सन्जालमा टिप्पणी गर्दै श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरू अफगानिस्तानमा रहेको उल्लेख गर्दै अहिले चर्किएको द्वन्दले उनीहरू जोखिममा परेको बताएकी हुन् ।
तालिबानले हिजो अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र त्यसको नजिक रहेको लस्कर गाहमा कब्जा जमाएको छ । काबुलबाट बढीमा ८० किलोमिटर दक्षिणमा रहेको पुल-ए-आलम सहित आधा प्रान्तीय राजधानी तालिबानले कब्जा गरिसकेका खबर आएको छ । तालिबान विद्रोहीको आक्रमण बढेपछि कूटनीतिक कर्मचारी तथा अरूलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनिकको टोली पुगीसकेको छ भने बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीह?को उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ ।
डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् । यता नेपालले भने कुनै निर्णय गरेको छैन । नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरू अफगानिस्तानको घरेलु द्वन्द्वले जोखिमको अबस्थामा रहेको भन्दै सांसद संग्रौलाले तत्काल उद्धार गर्न माग गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले यस्तो लेखेकी छन्, ‘नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरू अफगानिस्तानको घरेलु द्वन्द्वले जोखिमको अबस्थामा रहेका छन् । अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेपछि बिद्रोही तालिबानले आफ्नो शक्ति मात्र हैन नियन्त्रण क्षेत्र पनि बिस्तार गर्दै लगेको छ। बिश्वका मुलुकहरूले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म त्यस्तो खास पहल गरेको देखिदैन । त्यसर्थ नेपालीको सुरक्षालाई उच्च– प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन नेपाल सरकार संग जोडदार माग गर्दछु ।’




प्रतिक्रिया