अफताब आलमको मुद्दामा आजपनि सुनुवाइ भएन , पीडितहरू त्रसित

अफताब आलमको मुद्दामा आजपनि सुनुवाइ भएन , पीडितहरू त्रसित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा आजपनि सुनुवाइ हुन सकेन । आलमको मुद्दामा पटक-पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

यसअघि उनको रिट न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी पहिलो नम्बरमा परेको  थियो तर  न्यायाधीश हुनुपूर्व राउत र रेग्मी कांग्रेसको महाधिवेशन निर्वाचन समितिमा रहेकाले हेर्न नमिल्नेमा राखियो । विभिन्न कारणले मुद्दाको सुनुवाइ पर धकेलिँदै गएको छ । यसअघिको सरकारले कारवाहीका लागि पहल गरेको भएपनि शेरबहादुर देउवा सरकारले आलमलाई छुटाउन प्रयत्न गरेको आशंका  बढेको छ ।

प्रधानमन्त्री देउवाले यसअघि नै आलमलाई छुटाउन आफूले पहल गर्ने बताएका थिए । देउवा प्रधानमन्त्री भएसँगै पीडित परिवारहरू आलम छुट्ने हुन कि भन्ने चिन्तामा छन् । इँटा भट्टामा राखेर मजदूरहरूलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरूद्ध आलमले सर्वोच्चमा रिटमा  दायर गरेका थिए ।  

२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरू नेपाल ल्याई विस्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवित मजदुरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारले आलमविरूद्ध जाहेरी दिएपछि उनीविरूद्धको मुद्दा अघि बढाएर थुनामा राखिएको थियो ।