काठमाण्डु – कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ ।
इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाईका लागि तोकिएको छ ।
मुद्दाको पेसी पहिलो नम्बरमै छ । उनीमाथि ०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनापछि मानिसहरुलाई इटा भट्टामा जिउँदै जलाएर नरसंहार गरेको अभियोग छ ।
मृतकका परिवारको जोहरीपछि उनीविरुद्धको मुद्दा अघि बढेको थियो । साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।
उनी जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा गएका हुन् ।




प्रतिक्रिया