राष्ट्रिय ध्वजाबाहक वायुसेवाका अध्यक्ष अधिकारीविरुद्ध कर्मचारीको विद्रोह !

राष्ट्रिय ध्वजाबाहक वायुसेवाका अध्यक्ष अधिकारीविरुद्ध कर्मचारीको विद्रोह !

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम दिनदिनै ओरालो लागिरहेका बेला अध्यक्ष युवराज अधिकारीविरुद्ध कर्मचारीहरूले विद्रोह थालेका छन् ।

आईतबार कार्यालय खुल्नेबित्तिकै नेपाल वायुसेवा निगम कर्मचारी संघले अध्यक्ष अधिकारीलाई हटाउन माग राख्दै आन्दोलन थालेको छ । संघले अध्यक्ष अधिकारीलाई हटाउनुपर्ने कारणहरू लिखित रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ ।

कर्मचारी संघले अध्यक्ष अधिकारीलाई निगममा प्रवेश निषेध गरेको छ । अधिकारीले निगमको नेतृत्व सम्हालेपछि आर्थिक अवस्था बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त भइरहेका बेला कर्मचारी संघ घोषित आन्दोलनमै उत्रिएको छ ।

कर्मचारी संघले ३ करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै अध्यक्ष अधिकारीविरुद्ध आन्दोलन थालिएको संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।

काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध) सेवा खोसिएपछि निगमलाई आर्थिक रूपमा ठूलो धक्का लागेको छ । निगमले आर्थिक सुधारका योजना कार्यान्वयन नगरी ग्राउन्ड ह्यान्डलिङको आम्दानीमै निर्भर रहेको भन्दै नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा निगमको १६ अर्ब ४ करोड कूल आम्दानीमध्ये ३ अर्ब १८ करोड ग्राउण्ड ह्याण्डलिङबाट प्राप्त भएको थियो । कोरोना महामारीपछि निगमले ग्राउण्ड ह्याण्डलिङबाट प्राप्त हुने आय बढेको थियो तर विमान मर्मत, उडान व्यवस्थापनमा ध्यान नदिई सीमित आयमा रुमल्लिएको भन्दै प्राधिकरणले निगमबाट ग्राउण्ड ह्याण्डलिङ सेवा खोसेको छ ।

निगमको मुख्य आम्दानीको स्रोत ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिनुमा अध्यक्ष अधिकारीकै मुख्य दोष रहेको कर्मचारी संघको ठहर छ । अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मत-सम्भारतर्फ ध्यान नदिएको, एमओआर हुँदाहुँदै एओजी गराएर तथा अनावश्यक प्रचारबाजी गरी निगमको करोडौं रकम अपचलन गरेको आरोप कर्मचारी संघले अध्यक्ष अधिकारीमाथि लगाएको छ ।

निगमले मलेसियामा रहेको जीएसए बिक्री गर्ने कार्य गैरकानूनी रूपमा अघि बढाएको, मासिक ज्यालादारी र करार कर्मचारीहरू नियुक्ति गरी असल, योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको संघको आरोप छ ।

वर्षाैंदेखि सञ्चालनमा नरहेको र व्यवस्थित गर्न नसकिएको ‘एननाइन एबिएक्स’ कलसाइन रहेको ट्वीनअटर जहाज, ५ थान चिनियाँ जहाज र करोडौ मूल्यका पार्टपूर्जाहरू व्ययभार पर्ने गरी बेवारिसे छाडिएको आरोप छ ।

वर्षाैंअघि फेजआउट भइसकेको बोइङ ‘एननाइन एबीसी’ कलसाइन रहेको जहाजलाई पार्किङ र इन्स्योरेन्सबापत निगमलाई आर्थिक व्ययभार बढाउँदै लगेको आरोप अध्यक्ष अधिकारीमाथि छ ।

२०७८ कात्तिकमा अध्यक्ष नियुक्त भएका अधिकारीले सुधारका काम गर्न नसकेपछि कर्मचारी असन्तुष्ट बनेका छन् । अधिकारी निगमकै पूर्व कर्मचारी हुन् । निगममा आवश्यक सुधार नहुँदै नयाँ विमान किन्ने खेल थालिएपछि नेतृत्वको आलोचना भइरहेको छ ।

यसअघि खरिद गरेका वाइडबडी विमानलाई नियमित सञ्चालन गर्न नसक्दा ऋणको किस्ता रकम तिर्न धौंधौं परेका बेला निगमलाई थप ऋणमा पार्ने गरी विमान खरिदको योजना बनिरहेको छ । विमान खरिदमा कमिसन पाउने भएकाले निगमको हित बिर्सेर थप ऋणमा डुबाउने काम भइरहेको स्रोतले जनाएको छ ।

नयाँ विमान किन्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको समेत समर्थन छ । तर निगमले खरिद गरेका विमान बिग्रिँदा मर्मत नगर्ने, पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्ने अवस्थामा पनि नेतृत्वको ध्यान नयाँ विमान खरिदमा देखिएको छ । अध्यक्ष अधिकारीको नेतृत्वमा निगम थप धरासायी हुने आकलन गर्दै कर्मचारी संघ आन्दोलित बनेको बताइएको छ ।