बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति


काठमाण्डु – बालाजुकाे जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ।काठमाण्डु महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार अपरान्हदेखि लागेको आगो नियन्त्रणमा आएको हाे।

काठमाण्डु महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाण्डुका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सातवटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिए । विद्युत् ‘सर्ट’ भएर लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा लिन काठमाण्डु महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताए ।

यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरबबाट ५० जनाको टोली खटिएको थियो । आगलागीमा करोडौँको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो । घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement