बिर्तामोड – पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता बाहिर बस्न असाध्यै गाह्रो भइरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताए ।
‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसद्मा बोलेरै गर्नुभएको छ,’ नेता खरेलले भने, ‘उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिहरूबाट बताइरहनुभएको छ ।’
पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवं राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशील रहेको आरोप लगाए ।
उनले सरकारले आवश्यकताकै आधारमा अध्यादेश ल्याएको बताए । ‘सरकारले जनताको सुविधाका लागि ल्याएको अध्यादेश पास गरेर जान सक्छ,’ उनले भने, ‘संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ ।’ संविधान नमान्नेहरूले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उनको धारणा थियो ।
नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विधेयक आवश्यक भएको बताए । त्यसमा भएका व्यवस्थाहरू, सजाय र जरिवानाहरू छलफलबाट बढाउन वा घटाउन सकिने तर्क गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन फुकुवाबारे पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै उनले सभामुखको निर्णय ठीक भएको प्रतिक्रिया दिए । ‘सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरू दबाब सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ, दबाबको बाटो छाडेर कानूनी बाटो रोज्नु उपयुक्त हुने सुझाव दिनुभएको छ ।’




प्रतिक्रिया