काठमाण्डु-काठमाण्डु प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञसल्लाहकारमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गरेको हो । विज्ञ सल्लाहकारले राज्यमन्त्री सरह सुविधा पाउँछ ।
पूर्वकानुनमन्त्रीसमेत रहेका खरेल यसअघि २०७४ सालमा प्रधानमन्त्री ओलीकै पालामा महान्यायाधिवक्ता नियुक्त भएका थिए ।
२०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त भएका खरेलले २०७७ चैत ६ गते राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएपछि उनले राजीनामा दिएका थिए ।
खरेल पहिलो संविधान सभामा एमालेको समानुपातिक कोटाबाट सांसद बनेका थिए भने दोस्रो संविधान सभामा उनलाई मन्त्रिपरिषद्ले मनोनयन गरी सभासद बनाएको थियो ।
खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहँदै बार एसोसिएसनका महासचिव समेत भइसकेका हुन् ।




प्रतिक्रिया