संवैधानिक इजलासमा महान्यायाधिवक्ताको प्रश्न: त्यही प्रतिनिधिसभा किन चाहिएको ?

संवैधानिक इजलासमा महान्यायाधिवक्ताको प्रश्न: त्यही प्रतिनिधिसभा किन चाहिएको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गायक प्रकाश पौडेलको गीत ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ जस्तै गरी निवेदकहरुले जिद्दी गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा बोल्दै उनले प्रतिनिधिसभा किन चाहिएको हो ? भन्दै प्रश्न गरेका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ताजा जनादेशमा गएर अर्को प्रतिनिधिसभा गठन गर्न सकिने बताए ।

उनले दुई–दुई वटा संविधान सभाले बनाएको संविधानको कुरा अमिल्दो कुरा भयो भनेर एकजना विद्वानले गीत गाएको उल्लेख गर्दै आफू बाथरुम सिंगर भएको बताए ।

‘बाबुआमाले आफ्नो छोरालाई हुर्काइ–बढाइ गरेर विवाहका लागि योग्य बनाउँछ तर उसले यो गीतको बोलझैं आफूले मन पराएको त्यही केटी चाहिन्छ भनेर जिद्दी गरेजस्तो उहाँहरुलाई त्यही प्रतिनिधिसभा किन चाहिएको हो ?’ उनले भने, ‘ताजा जनादेशमा गएर अर्को प्रतिनिधिसभा गठन गर्न किन नमिल्ने ?’

महान्यायाधिवक्ता खरेलले गत माघ १४ गते इजलासमा निवेदकका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीत सुनाएर सरकारलाई प्रश्न गरेको सन्दर्भमा मंगलबार ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत सुनाएर जवाफ दिएका हुन् ।

खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन् । महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट पारेका छन् ।

सरकारका प्रमुख कानूनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको उनको भनाई छ । पहिलो र दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि मन्त्रिपरिषद्को निर्णयबाटै भएको स्मरण गराउँदै उनले अहिले पनि मन्त्रिपरिषद्कै निर्णयबाट विघटन भएको बताए ।

‘रिट निवेदनमा राष्ट्रपतिको भूमिका असंवैधानिक भएको भन्ने प्रश्न उठाइए पनि जनतामा जाने राष्ट्रपति नभई प्रधानमन्त्री नै हो’, उनले भने, ‘विघटन भएको प्रतिनिधिसभा फेरि ब्यँुतिने अवस्था छैन, प्रतिनिधिसभा मरेको नभई निर्वाचनमा जान मात्र विघटन गरिएको हो ।’

उनले बनेको सरकारलाई काम गर्न नदिई प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि कसरी काम गर्ने भन्ने प्रश्न गर्दै यस्तो अवस्थामा विघटनको विकल्प नभएको तर्क राखे । रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षबाट बहस शुरू भएसँगै महान्यायाधिवक्ता खरेलले बहस शुरू गरेका थिए ।