काठमाण्डु – नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सबैभन्दा राम्रो देखिनुपर्ने संसद्को स्तर दिन प्रतिदिन खस्किँदै गएको बताएका छन् ।
आज शनिबार माओवादी मुख्यालयमा रिटर्नी सेन्टर नेपालको प्रथम बागमती प्रदेश सम्मेलनमा बोल्दै उनले भने, ‘विचारको शून्यताका कारण संसद्मा अराजकता बढेकाले दिन प्रतिदिन संसद् खस्किँदै गएको छ । अहिले देशमा विकृति विसंगति र अराजकता बढेको छ, देशको संसद्मा समेत अराजकता देखिन्छ । यसको पछाडिको मुख्य कारण विचारको विकास नहुनु, विचारको रिक्तता, विचारको शून्यता नै हो जसले लोकतन्त्र कमजोर भइरहेको छ । लोकतन्त्र त सबभन्दा बलियो हुनुपर्ने संसद्मा पनि अराजकता छ नि तपाईंहरूले पनि देख्नुभएको होला सबभन्दा राम्रो देखिनुपर्ने संसद् सबभन्दा नराम्रो देखिन्छ । त्यहाँको स्तर दिन प्रतिदिन खस्किरहेको छ ।’
प्रवक्ता सापकोटाले अहिले देशको परिवर्तनको नेतृत्व गर्ने पार्टी माओवादीको विरुद्धमा विभिन्न खालका भयानक जालझेलहरू भइरहेको बताए । फेरि एकपटक भयानक आँधी तुफान र भारी वर्षाका बीचमा पनि शक्तिशाली भएर उभिन उनले सबैलाई अपिल गरेका छन् ।
‘अहिले भएको यो परिवर्तनका विरुद्धमा परिवर्तनको नेतृत्व गर्ने पार्टी र त्यसको नेतृत्वको विरुद्धमा भयानक ठूला षड्यन्त्रहरू हुँदैछन् । त्यसैले अपिल गर्छु फेरि हामी एकपटक त्यो भयानक आँधी तुफान र भारी वर्षाका बिचमा पनि शक्तिशाली भएर उभिने खालको मान्छे बन्नुपर्छ,’ उनले भने ।
आफूलाई चिन्ने कुरा सबैभन्दा कठिन रहेको बताउँदै उनले अरू रूपान्तरण भए कि भएनन् भन्दा पनि म रूपान्तरण भएँ कि भइनँ भन्ने कुरा सोच्ने र आत्म सुधारमा लाग्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया