काठमाण्डु-माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट आज फैसला हुने भएको छ । अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको पेशी तोकिएको छ ।
काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणी दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र मानवअधिकारकर्मी सुशील प्याकुरेलसमेतले २०६८ असार ६ गते रिट दायर गरेका थिए । सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन ।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।
उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदातलको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।
संवैधानिक इजलासका अध्यक्ष विश्वम्भर श्रेष्ठको अध्यक्षमा प्रकाशमान सिंह राउत, सपना प्रधान मलल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासबाट निर्णय सुनाइने गरी आज पेशीमा राखिएको छ ।




प्रतिक्रिया