काठमाडौं – तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि लामो समय रिक्त रहेको प्रतिनिधिसभा सभामुख पदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
विभिन्न दलको प्रतिनिधित्व रहेको सभाको सभामुख पदमा फरक मत र अर्काे उम्मेदवारी नआएकाले सापकोटालाई ‘सर्वसम्मत सभामुख’ पनि भन्न सकिएला ।
सापकोटालाई सर्वसम्मत बनाउन कांग्रेसको भूमिका महत्त्वपूर्ण रह्यो । सभामुख निर्वाचन प्रक्रिया अगाडि बढेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । माघ ७ गतेको कांग्रेस संसदीय दलको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्यो । नेकपा सचिवालय बैठकले त्यसअघि नै अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
कांग्रेस बैठकमा लेखिएको निर्णय सुनाउँदै नेता मिनेन्द्र रिजालले आईतबार प्रतिनिधिसभा बैठकमा भने, ‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’
कांग्रेसको सभामुखमा उम्मेदवारी नदिने निर्णयले नेकपा र सापकोटालाई सहज बनायो । संसदमा कुनै प्रतिस्पर्धा देखिएन । वादविवाद देखिएन । सापकोटा सर्वसम्मत सभामुख निर्वाचित भए । सभामुखमा उम्मेदवारी दिने सुविधा हुँदाहुँदै पनि कांग्रेसले उम्मेदवारी नदिएर ‘सभामुख पद तटस्थ रहनुपर्ने’ सन्देश त दिएको छ । तर त्यससँगै सभामुख सापकोटाप्रति कांग्रेसले शंका समेत जनाएको छ । मौन समर्थन जनाएका सापकोटामाथि कार्यभार नसम्हाल्दै कांग्रेसले शंका गर्नुपर्ने
अवस्था किन आयो ?
संसद बैठकमै मिनेन्द्र रिजालले शंकाको सुविधाबारे प्रस्ट पार्दै भने, ‘एउटा आवाज बलियोसँग आएको छ, भोलिको दिनमा विधिको शासन चल्छ चल्दैन ? संविधानले भने अनुसारको बाटोमा देश हिँड्छ/हिँड्दैन ? लोकतान्त्रिक स्पेस खुम्चिन्छ/खुम्चिन्न ? आशंका छ । त्यसैले होला, सबैभन्दा बलियो र कडा स्वरमा नागरिक समाज र आम नागरिकले शंकाको कुरा गर्नुभएको छ । त्यो बाटो पार लाग्छ कि लाग्दैन ? सापकोटाले त्यो काम पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? मैले यति भन्नुपर्छ – माननीय सापकोटा अहिले सभामुखका लागि प्रस्तावित व्यक्ति हुनुहुन्छ । सभामुख भइसकेपछि एउटा ठूलो रुपान्तरणको प्रक्रिया शुरू हुन्छ । जसले आशंका गर्नुभएको छ, उहाँहरूको भरोसा जित्न सक्नहुन्छ कि हुन्न ? हाम्रो चासो छ ।’
संसदमा संख्यात्मक रुपमा सत्तारुढ नेकपाको उपस्थिति बलियो छ । झण्डै दुईतिहाइ बहुमत प्राप्त नेकपाले विगतमा समाजवादी पार्टी र अब राष्ट्रिय जनता पार्टी (राजपा) लाई साथ लिएर दुईतिहाइको साथ पाइराख्ने अवस्था देखिन्छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कमजोर अवस्थामा छ । कांग्रेसलाई लाग्ने गर्छ – सभामुखले जबरजस्ती गरे, नेकपा पार्टी र सरकारको निर्देशन माने । कांग्रेसले संसदमा विरोध र अवरोध जनाउँदा समेत संसदीय कामकारवाही अगाडि बढेको, विरोधकै बीच विधेयकहरू पारित भएका उदाहरण नजिकबाट देखेको कांग्रेस शुरूकै दिनबाट सापकोटामाथि शंका गरिरहेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले कांग्रेसले सदनकै चर्काे विरोध गरिराख्दा विधेयकहरू पारित गराएका थिए ।
नेपाली कांग्रेसको सभामुखप्रति रहेका अपेक्षाबारे खुल्दै कांग्रेस नेता रिजालले भने, ‘संस्थाको अनुहार वा मुख सभामुखका रुपमा तपाईंले काम गर्न थालेपछि हिजोको विगतभन्दा आगत महत्त्वपूर्ण हुन्छ । त्यो आगतले यी कुरालाई आश्वस्त गर्न सकोस् – मनमा चिन्ता लिएर हिँड्नेहरू, लोकतान्त्रिक बाटोमा कठिनाइ आउला कि, हिजोको दुई पक्षमध्ये एक वा अर्कोको सोचबाट संसद सञ्चालन होला कि भन्ने चिन्ता गर्नेहरूलाई आश्वस्त गर्ने काम गर्नुहोला । हाम्रो शुभकामना छ ! गर्नुहुन्छ÷गर्नुहुन्न आउने दिनमा यही ठाउँमा बसेर हेर्छौं । गर्दासम्म तपाईलाई हाम्रो सहयोग रहन्छ । गर्न नसकेको दिनमा हामीले लामो लोकत्रान्त्रिक यात्रामा हिँडेका व्यक्ति र संस्थाहरू सबैसँग उभिन सक्नुपर्छ र त्यो प्रतिवद्धता छ ।’
कांग्रेसको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका रिजालले सापकोटालाई व्यवहारका आधारमा ‘सशर्त’ सहयोग गर्ने स्पष्ट पारेका छन् । सभामुख निर्वाचित हुनैलाग्दा सापकोटामाथि लगाइएको काभ्रेका अर्जुन लामाको हत्या आरोप उचाल्न खोजिएको छ । तर कांग्रेसले द्वन्द्वकालीन मुद्दा उचाल्न सहयोग नगर्ने संकेत गरेको छ । संसदमा बोल्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सापकोटाको विगत नभई आगत हेरेर व्यवहार गर्ने स्पष्ट पारेका छन् ।
द्वन्द्वकालीन मुद्दालाई उचाल्दै केही अधिकारकर्मीहरूले सर्वाेच्च अदालतमा मुद्दा, सडक प्रदर्शन, सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् । सभामुखमा निर्विरोध निर्वाचित भइसकेकाले सापकोटाले मंगलबारदेखि सभामुखको कार्यभार सम्हाल्दैछन् ।




प्रतिक्रिया