काठमाडौं – प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ ।
आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरु पास गर्नुपर्ने कार्यसूची थियो । बिहीबार नै तय भइसकेको उक्त कार्यसूची प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि प्रभावित भएको थियो । सभामुख अग्नि सापकोटाले बिहीबार सदन अवरुद्ध भएपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक बोलाएका थिए । तर, शुक्रबार पनि कांग्रेसले सदन अवरुद्ध जारी राख्यो । सभामुख सापकोटाले अर्काे बैठक आइतबारका लागि बाेलाएका छन् ।
सभामुख सापकोटाले सदन खुलाउन पटक–पटक ‘विशेष आग्रह’ गरे । उनले प्रतिपक्षी दललाई सदनका काम कारबाही गर्नुर्ने भएकाले सदन सूचारु गरिदिन अनुरोध गरे पनि त्यो व्यर्थ सावित भयो । कांग्रेसले आफ्ना नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै बैठक अवरोध गर्दै आइरहेको छ ।
बैठकको सुरुमा बोल्दै कांग्रेस नेता मिन विश्वकर्माले नियोजित रुपमा कांग्रेसका मान्छेलाई थुन्ने काम सरकारले गरेको भन्दै आक्रोश पोखेका थिए । ‘अख्तियार सरकारको छायाँ भएर आफ्ना पक्षकालाई बोक्ने विरोधीलाई ठोक्ने नीति लियो’, उनले भने ।
त्यसपछि उनले सभामुखलाई सदन सुचारु गर्न कांग्रेस असमर्थ रहेको जानकारी दिए । लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए । केही छिनको मौनतापछि सभामुख सापकोटा बोल्न सुरु गरे । उनले अदालतमा गइसकेको विषयलाई लिएर पटक–पटक सदन अवरुद्ध पार्नु औचित्यहिन रहेको भन्दै सदन सुचारु गर्न आग्रह गरे ।
उनले कांग्रेस सांसदलाई सम्झाउँदै भने, ‘मैले हिजो पनि अलिकति संकेत गरेकै थिएँ । तपाईहरुले उठाउनु भएको विषय अदालतमा गइसकेको छ । त्यसकारण हाम्रो व्यवस्थापिका संसदको क्षेत्राधिकारभित्र पर्दैन भनेर मैले भनिसकेको छु । सम्बन्धित निकायमा यसको सन्देश पुगिसकेको छ । र हिजो पनि भनेको थिएँ । आज पनि विशेष रुपमा अनुरोध गर्न चाहान्छु कि हाम्रो व्यवस्थापिका संसदको बैठक ठिलो गरी सूचारु भएको छ । धेरै विधेयकहरुमा छलफल गर्नुछ ।’
उनले केही सांसदहरुले जनताका समस्याका विषय बोल्न नपाएको गुनासो गरेको बताए । सांसदहरुले संसदमा बोल्ने वातावरण बनाउनुपर्यो भन्दै आफूसँग अनुरोध गरेको बताए ।
उनले भने, ‘त्यसकारण म तपाइहरुलाई विशेष अनुरोध गर्छु कि यहाँ(सदन)बाट दिनुपर्ने सन्देश, यहाँबाट उठ्नुपर्ने कुरा उठिसकेको जस्तो लाग्छ । अब त अदालतमा गइसकेको छ । अर्को प्रक्रियाबाट यसलाई अगाडि बढाउने कुरा नै बढी वाञ्छनिय हुन्छ जतो लाग्छ । आजलाई मान्य सदस्यहरु बस्नुस र सदनको काम कारबाही अगाडि बढाउन सहयोग गर्नुस् । म अलि विशेष रुपमा अनुरोध गर्छु ।’
त्यसपछि सभामुख बोल्न रोकिए । केही मिनेटको मौनतापछि सभामुखले कांग्रेस सांसदहरुलाई फकाउँदै विगत सम्झिए । उनले सदन प्रभावकारी रुपमा सुचारु गर्नका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्ने आश्वासन दिएकाे सुनाए । र पनि कांग्रेस सांसदको डेग चलेन उनीहरुले उभिएर विरोध जनाइरहे ।
सभामुखमा चयन भएपछि बधाई दिँदै सभापति शेरबहादुर देउवाले मुस्किल मुस्किलले सभामुख चयन भएको भन्दै सापकोटालाई बधाई दिएका थिए ।
सभामुख कुनै पार्टीको नभई सम्पूर्ण सदनको भएको भन्दै उनले प्रतिपक्षलाई विश्वास लिएर अगाडि बढ्न सुझाव दिएका थिए । सभामुख तटस्थ पद भएको भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्ने बचन दिएका थिए । आजको बैठकमा सभामुख सापकोटाले सोही बचन सम्झिएका थिए ।
‘मेरो कार्यभार सम्हाल्ने क्रमसँगै धेरै मान्य सदस्यहरुले यो सदनलाई जिवन्त, प्रभावकारी बनाउनका लागि मलाई सुझावहरु दिनु भएको छ । तपाईहरुले उठाउनु भएको विषय यसबाट निरुपण हुने विषय होइन’, उनले विकास निर्माणमा ध्यान दिन आग्रह गर्दै भने, ‘हामी कहाँ कहाँ के–के सुधार गर्नुपर्छ के के विकास गर्नुपर्छ यस विषयमा व्यापक छलफल गर्छौं त्यो गर्नका लागि हामीले अवरुद्ध गरेर होइन । छलफललाई अगाडि बढाएर नै जिवन्त प्रभावकारी बनाउन सक्छौं भन्ने लाग्छ । त्यसकारण म तपाइहरुलाई फेरी पनि गम्भीर र विशेष अनुरोध गर्छु । बैठक सुचारु गर्नूस् ।’
यस्तो थियो आजको बैठकको कार्यसूची
– औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने
– कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरिने
– गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र कारागार विधेयक २०७६ पेश गर्ने
–कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसासले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक २०७६ पेश गर्ने
– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय उत्पति भएको संघ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन)विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने
–भौतिक पूर्वाधार तथा यातायतमन्त्री वसन्तकुमार नेम्बाङले बैठकमा राष्ट्रियसभामा उत्पति भएको ’नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची थियो ।





प्रतिक्रिया