काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी ) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका छन् ।
सिंदरबारमा सोमबार पत्रकारसँगको अनौपचारिक भेटघाटमा उनले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढंगले बहस भइरहेको बताए ।
उनले एमसीसी पारित हुनेमा आंशका व्यक्त गर्दै यस्तो बताएका हुन् । नेकपाका अधिकांश नेताहरु एमसीसी परिमार्जनसहित पास गर्नुपर्ने अडानमा छन् ।
‘एमसिसी बहसमै छ, कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ,’ उनले भने, ’दलहरुभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ ।’
अमेरिकाले एमसीसी परिमार्जन गरे स्वीकार नगर्ने चेतावनी दिँदै आएको छ । नेकपा नेता देवेन्द्र पौडेलले एमसीसी परिमार्जनसहित पास हुने दाबी गरे । उनले एमसीसीमा रहेका कतिपय प्रावधानहरु अमिल्दा रहेकाले परिमार्जन आवश्यक रहेको बताए ।
उनले दलहरुबीच सहमति भएपछि सभामुखले सहजीकरण मात्रै गर्ने टिप्पणी गरे । विद्युत प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा खर्च गर्ने गरी अमेरिकी सरकारले उपलब्ध गराउने उक्त सहयोग ग्रहण गर्ने वा नगर्ने सम्बन्धमा बहस भइरहेको छ ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसिसी सहयोग लिनेरनलिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले एमसिसीका कतिपय प्रावधान संशोधन गरेरमात्र सहयोग ग्रहण गर्न सुझाव दिएको छ ।
चालु अधिवेशनमा आठ विधेयक पारित
संघीय संसदको चालु अधिवेशनमा हालसम्म प्रतिनिधिसभाबाट आठ विधेयक पारित भएको छ। त्यस्तै ३३ विधेयक प्रक्रियामा, ६ विधेयक दर्ता तथा एक विधेकयमाथि सैद्धान्तिक छलफल भएको छ ।
यस्तै १३ विधेयक विभिन्न समितिमा रहेका, विभिन्न तीन समितिको प्रतिवेदन सभामा पेश, एक सन्धि र दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको सभामुखले जानकारी दिए । कोरोना भाइरस संक्रमणको गाम्भीर्यतालाई हेरेर केही दिन संसद स्थगन गरिएको स्पष्ट पार्दै उनले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।
सभामुख सापकोटाले राज्यका सबै अवयव र जनताको स्तरबाट एकजुट भएर कोरोनाका विरुद्ध लाग्नुपर्ने अवस्था आएको बताए ।
दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुख निर्वाचन
सभामुख सापकोटाले दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । उपसभामुख निर्वाचनका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलकै चरणमा रहेको पाएको जानकारी दिए ।
उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखका सम्बन्धमा दलहरुबीचमा सहमति जुट्न सकेको छैन ।
सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्षको परामर्शमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसदको महासचिवको जिम्मेवारी तोकिएकोसमेत बताए ।
’महासचिवको अनुपस्थितिमा यसअघि पनि उहाँले नै कावा महासचिवका जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो, अध्यक्षसँगको परामर्श र ज्येष्ठताका आधारमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको हो,’ उनले भने ।
प्रतिनिधिसभाका महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि सेवानिवृत्त भएसँगै सभामुख सापकोटाले प्रतिनिसिभाका सचिव योगीलाई आजदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म महासचिवको जिम्मेवारीको तोकेका थिए ।
समितिको बैठकमा सहज पुहँच मिलाउँछु
केही संसदीय समितिका बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले त्यसका लागि आफूले छलफल थालेको बताए ।
’समितिको बैठकमा सञ्चारकर्मीको सहज पुहँचका लागि म लागिपरेको छु,’ उनले भने, ’सञ्चारकर्मीलाई पहुँच होस् भन्ने नै हो, यही विषयमा समितिका सभापतिसँग कुराकानी गर्नेछु ।’
समितिको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा आफूले यहीँ बुधबार प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापतिसँग छलफल राखेको जानकारी दिए ।
आन्तरिक व्यवस्थापनका विषयमा लाग्दा आफूले विभिन्न समितिमा गैरसरकारी संस्थाको पुहँचका बारेमा सोच्न नभ्याएको उनको प्रष्टोक्ति थियो। चालु अधिवेशन अन्त्य गर्ने विषय छलफलकै चरणमा रहेको उनको भनाइ थियो ।




प्रतिक्रिया