काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजेका लागि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाइएको सचिवालयले जनाएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।
सरकारको उक्त निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि गत फागुन २३ गते प्रतिनिधिसभाको पहलो बैठक बसेको थियो । त्यसपछि फागुन २६ गते दोस्रो बैठक बसेको थियो । तर, कार्यव्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेको थिएन ।
सत्तारूढ दलभित्रको किचलोको असर संसद्मा परेको छ । यसअघिका दुवै बैठक औपचारिकतामा सीमित भएका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठक नबस्दा अध्यादेश टेबुल गर्नेदेखि दलका नेताले सम्बोधन गर्ने कार्यक्रमसम्ममा जटिलता निम्तिएको छ ।




प्रतिक्रिया