काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।
उनले भने, ‘प्रतिनिधिसभाको चालु सातौँ अधिवेशनका विधेयक अधिवेशन भएकाले मुलुक र जनताका सरोकारसँग सम्बन्धित पाँच दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा अड्किएका छन्, यो अधिवेशनमा एउटा पनि विधेयक सदनले पास गर्छ कि गर्दैन भनी चासो र कौतुहलताकासाथ जनताले हेरिरहेको अवस्था छ ।’
जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ भनी प्रश्न गर्दै सांसद पण्डितले भने, ‘होइन भने एकतर्फीरूपमा संसद्लाई सरकारले काम दिएन भनियो भने पूर्वाग्रहभन्दाबाहेक अरु केही हुनेछैन ।’
सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो औँल्याउँदै उनले भने, ‘सरकार र सांसदलाई दोष दिएर उम्कन खोज्ने स्थिति हुनुहुन्न, सदनमा थाती विधेयक र प्रस्तावलाई अघि बढाउन आग्रह गर्न चाहन्छु ।’
नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए ।
उनले भने, ‘संविधान निर्माणमा हालका सबै राजनीतिक दलको योगदान रहेकाले संविधानको मर्म र भावनाबारे आफूहरुलाई राम्रो ज्ञान छ, सदनका गतिविधिलाई रोक्नु भनेको लोकतन्त्र, राजनीतिक संस्कार र मूल्यमान्यताविपरीतको कार्य हो, जनताको भावनाअनुरुप सदनलाई अघि बढाइयोस् । अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ?’
मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न सुझाव दिँदै उनले भने, ‘आयोजनालाई ठिक समयमा सम्पन्न गर्न अनुगमनको व्यवस्थासहित राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्ड गरियोस् विकास र समृद्धि अघि बढेको भाषण मात्र नगरियोस् ।’




प्रतिक्रिया