काठमाण्डु – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई अवमूल्यन गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।
आज प्रतिनिधिसभा विघटनको विषयमा कानुनका जानकारको कुरा सुनेपछि उनले संसद् भनेको राष्ट्रपति, प्रधानमन्त्री र सभामुख बनाउने थलो भएकाले उच्चपदमा आसिन व्यक्तिले नै संसद्को सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
‘संविधानमा सबै कुरा लेखिएका पनि हुँदैनन् । संविधान राष्ट्रका लागि हुने भएकाले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर बनाइएको हुन्छ । त्यसको व्याख्या गर्दा र प्रयोग गर्दा राष्ट्रियहित र लोकतन्त्रको विकासलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्छ’, सापकोटाले भने ।
अरुले के सोच्छन् भन्नेकुरा आफूलाई थाहा नभएको भन्दै उनले आवश्यक पर्दा नेपाली जनताले आफूलाई सुम्पिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताएका छन् ।
आजको परामर्शमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष र वरिष्ठ अधिवक्ता एवम् कानुन जानकार सहभागी थिए। यसअघि सभामुख सापकोटाले जेठ ११ गते (मंगलबार) पूर्वसभामुखसँग परामर्श गरेका थिए ।




प्रतिक्रिया