शक्ति पृथकीकरण विपरीत चालिएको कदम फेरि असफल भयोः सभामुख सापकोटा

शक्ति पृथकीकरण विपरीत चालिएको कदम फेरि असफल भयोः सभामुख सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले शक्ति पृथकीकरण त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै सभामुख सापकोटाले सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएको बताएका छन् ।

‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ । प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ । प्रतिनिधि सभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ’, उनले भनेका छन् ।

सभामुख सापकोटाले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनस्र्थापना गर्ने ऐतिहासिक फैसला भएको बताएका छन् ।

‘सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छा अनुसार जनप्रतिनिधिमूलक संसदबाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई सम्मानित अदालतको फैसलाले पुनः स्थापित गरेको छ’, सभामुख सापकोटाले भने, ‘विगतको तुलनामा संसदलाई अपेक्षाकृत वढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याहरुको निकास दिने आधिकारिक थलोको रुपमा संविधानमा स्थापित गरिएको कुरा पुनः प्रमाणित भएको छ ।’

उनले आफूहरुले अवलम्बन गरेको निर्वाचन प्रणाली र व्यवहारिक यथार्थका दृष्टिले पनि सहमति, समझदारी र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नुपर्ने अभिभारा रहेको बताए ।

‘प्रतिनिधि सभा पुनः क्रियाशील भएसँगै हामीलाई सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको छैन यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम दायित्व पनि थपिएको छ । यो विशद कार्यभारका लागि सिंगो संसद, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु एवं सम्पूर्ण माननीय सदस्यहरुको रचनात्मक भूमिका हुनेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु’, सभामुख सापकोटाले भने ।