काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुसँग भेट गर्न अस्वीकार गरेका छन् । शुक्रबार बिहान सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेका एमाले सांसदहरुसँग भेट गर्न सभामुख सापकोटाले अस्वीकार गरेका हुन् ।
माधव नेपाल पक्षका १४ जना सांसदलाई पार्टी कारबाहीका लागि सिफारिस गरेको तर, सभामुखले आलटाल गरेको भन्दै एमालेले पटकपटक सापकोटालाई ध्यानाकर्षण गराइरहेको छ । बिहीबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितको टोलीले सभामुख सापकोटालाई ध्यानाकर्षण गराएको थियो ।
आज पनि एमाले सचेतक शान्ता चौधरीसहितको टोली कारबाही गर्न आलटाल गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराउन कार्यकक्षमा पुगेको थियो । तर, एमाले सांसद आउने पूर्वसूचना पाएपछि उनी कार्यकक्षमा गएनन् ।
सचेतक चौधरीले सभामुखलाई आफूले आज बिहान फोन गरेर कार्यकक्षमा आउने जानकारी गराए पनि भेट्न नआउन भनेको बताइन् ।
‘मैले बिहान फोन गर्दा किन भेट्नुपर्यो र ? भन्नुभयो । मैले– तपाईले हिजो सूचना टाँस गरेर कारबाहीको जानकारी गराउँछु भन्नु भएको थियो तर, अझै गर्नुभएन के गर्नुभएको सभामुखज्यू ? आज पनि हामी आउँदैछौं भनेको थिएँ । जवाफमा उहाँले जे छ फोनमा भन्नुस, मलाई भेट्नुपर्दैन भन्नुभयो,’ उनले भनिन् ।
सचेतक चौधरीले सभामुखले पार्टीको कार्यकर्ताको जस्तो व्यवहार देखाएको भन्दै अब आफूहरु चुप लागेर नबस्ने चेतावनी दिइन् ।
‘उहाँले पार्टीको कार्यकर्ताको व्यवहार देखाउनु भएको छ । स्वतन्त्र संस्थाको व्यवहार देखाउनुभएन । नेकपा एमाले थुप लागेर बस्दैन,’ उनले भनिन् ।
एमालेले नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई कारबाहीका लागि संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । एमालेले कारबाही गरेका सांसदको सूची सभामुख समक्ष पुगिसकेको छ। तर, सभामुख सापकोटाले आफूले छलफल र परामर्श गरिरहेकाले कानूनअनुसार निर्णय गर्ने बताउँदै आएका छन् ।




प्रतिक्रिया