काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । सभामुख सापकोटाले दिउँसो २ः३० बजेका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओली सहभागी नहुने भएका हुन् ।
केही दिनदेखि लगातार संसद बैठक अवरोध गर्दै आएको एमालेलाई सहमतिमा ल्याएर सदन सुचारू गराउन सभामुख सापकोटाले सर्वदलीय बैठक बाेलाएका थिए । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा ओली सहभागी नहुने बताए ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग पहिलो चरणमा अनौपचारिक छलफल रहेकाे बताए । उनले सभामुखले आफ्ना गल्तीलाई सच्याएको खण्डमा सर्वदलीय बैठकमा सहभागी हुने बताए ।
‘संसदीय दलका नेतासँग सभामुखको उच्चस्तरीय कुराकानी भएको बुझेको छु । अहिले हामी अनौपचारिक छलफलमा जाँदैछौं,’ प्रमुख सचेतक भट्टराईले भने, ‘उनले आफ्ना गल्ती सच्याउने प्रतिबद्धता व्यक्त गरे भने त्यसपछि बैठकमा जाने या नजाने भन्ने विषयमा टुंगोमा पुग्छौं ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ । संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो ।




प्रतिक्रिया