संसद खुलाउन मेरो प्रयास जारी छ : सभामुख सापकोटा

संसद खुलाउन मेरो प्रयास जारी छ : सभामुख सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल – सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे ।

सभामुख सापकोटाले भने, ‘संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मकरूपमा लिएको छु ।’

अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पु¥याउने उल्लेख गर्दै उनले भने, ‘इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वोपरी हुन् । देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्नेछन, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ ।’

देशले एकपछि अर्को गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसदले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्ने बताए ।

‘विश्व समुदायजस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ, मातृभूमिप्रति इमान्दार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ’ उनले भने ।

सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सभामुख सापकोटाले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गरे ।

लोकतन्त्र प्रवचन दिने विषय नभई आत्मसात र व्यवहारमा लागू गर्ने विषय भएको जनाउँदै उनले संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए तापनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गरे ।