कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित, सभामुख फकाउँदै प्रधानमन्त्री

कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित, सभामुख फकाउँदै प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुु – संवैधानिक परिषद्को बैठक कोरम नपुगेपछि स्थगित भएको छ । मंगलबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

अर्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री अ‍ोलीले सभामुख सापकोटालाई बैठकमा ल्याउनका लागि पहल गर्ने स्रोतले जानकारी दियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा , राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित थिए । ६ जना सदस्य रहेको परिषद्मा पाँच जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्षसहित प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । हाल उपसभामुखको कोटा रिक्त रहेको छ ।

बैठक अगावै प्रधानमन्त्री ओलीले समन्वय नगरेको, पर्याप्त गृहकार्य नभएको भन्दै सभामुख अनुपस्थित भएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

पछिल्लाे समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादका कारण सभामुख सापकोटाले प्रधानमन्त्रीलाई असहयोग गरेको चर्चा नेकपाभित्र चल्न थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री अ‍ोलीले पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद्का सदस्यहरु नियुक्ती गर्न लागेको भन्दै सभामुखमार्फत अ‍ोलीलाई असहयोग गरेको स्रोतले जानकारी दियो ।