चीनसँग भएका सम्झौता–सहमतिको अवस्था बुझ्दै परराष्ट्रमन्त्री


काठमाडौं –  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकसँग भएका दुईपक्षीय समझादारीका काम अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन्। चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाको ब्रिफिङ लिने क्रममा उनले त्यस्तो बताएका हुन्।

चीनसँग भएका सम्झौता र सहमतिको वर्तमान अवस्थाबारे मन्त्री ज्ञवालीले जानकारी लिएका हुन्। उनले चीनसँग भएका सम्झौता, सहमति र गर्न सकिने कामबारे नेपालको धारणा कस्तो रहेको र यसमा कुन प्रकारको चासो देखाइएको भन्ने विषयमा समेत चासो व्यक्त गरेको ब्रिफिङमा सहभागीले बताएको खबर आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

मन्त्रालयअन्तर्गत दुई विभाग र १० महाशाखा छन्। त्यही महाशाखाअन्तर्गत दूतावास रहने गर्छन्। चीनसँग भएका सम्झौता र सहमतिका साथै अन्य दुईपक्षीय परियोजना अघि बढाउन र त्यसको अवस्थाबारे अध्ययन गर्न परराष्ट्र सचिव शंकरदास बैरागीलाई जिम्मा दिइएको भए पनि यसको अवस्थाका बारेमा पनि त्यहाँ छलफल भएको एक अधिकारीले बताए।

चिनियाँ राजदूतले भेटिन् ज्ञवालीलाई

मन्त्री ज्ञवालीलाई भेट्न आइतबार नै चिनियाँ राजदूत यू होङ परराष्ट्र मन्त्रालय पुगेकी थिइन्। चीन हेर्ने महाशाखाको ब्रिफिङ लिएपछि ज्ञवालीले राजदूतसँग छलफल गरेका हुन्। राजदूतले उनलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्दै दुईपक्षीय सम्बन्ध उचाइमा लैजान मिलेर काम गर्नुपर्ने धारणा राखेकी थिइन्।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको पनि उनलाई बधाई तथा शुभकामना सन्देश आइसकेको छ। परराष्ट्रमन्त्री नियुक्त भएपछि ज्ञवालीले नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण गराएर सकारात्मक सन्देश दिँदै आर्थिक हैसियत उकास्ने कार्य अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

यो वर्षलाई अन्तर्रा्ष्ट्रिय भ्रमण वर्षका रूपमा सम्झनलायक बनाउने गरी काम हुन आवश्यक रहेको पनि उनले बताएका थिए। नेपालमा छिमेकको मात्र नभई अन्य मुलुकहरूबाट पनि भ्रमण गराउन पहल गरिनुपर्ने भन्दै सबै दूतावासलाई यसमा सक्रिय बनाउन उनले निर्देशन दिएका छन्। नेपालको भूराजनीति नै विश्वको चासोमा रहने प्रकारको भएकाले यसमा ख्याल गरेर नै आफू अघि बढ्ने जानकारी उनले दिएको अधिकारीहरूले बताए।

ज्ञवालीले विश्व शान्तिमा नेपालको योगदानबारे धारणा राख्दै त्यसअनुरूपको उच्चस्तरीय उपस्थिति जनाउन नसकेकाले यसमा कूटनीतिक लबिइङ तीव्र पार्नसमेत जोड दिने बताएका छन्। त्योअनुरूपको कूटनीतिक क्षमता देखाउन नसकेको वा चुकेको हो भन्नेमा अध्ययन जरुरी भएको उनले बताएका छन्।

उनले कूटनीतिमा नतिजा निकाल्ने गरी काम गर्न आवश्यक पर्ने सन्देश मातहतलाई दिएको अधिकारीहरूले बताए। नेपाल विश्वको कुनै पनि मुलुकको विरुद्ध उपयोग हुन नहुनेतर्फ सजक रहनुपर्नेसमेत उनले बताए। छिमेकसँग आ–आफ्नै प्रकारको सम्बन्ध स्थापित गरेर अघि बढ्नुपर्ने धारणा पनि उनले राखेका छन्।

यसका लागि छुट्टै खाकामा आफूले काम गर्ने पनि मन्त्री ज्ञवालीको संकेत छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष भएका नाताले सार्क शिखर सम्मेलन जतिसक्दो छिटो गराउन नेपालले पहल गर्ने पनि उनले यसअघि नै बताइसकेका छन्।

यस क्षेत्रमा अर्को आर्थिक संगठन बिमस्टेक पनि रहेको र त्यसको अध्यक्षता पनि नेपालले गरेको हुनाले त्यसको पनि जतिसक्दो छिटो शिखर सम्मेलन काठमाडौंमा गर्ने स्पष्ट पार्दै उनले त्यसअनुरूपको तयारी गर्न पनि निर्देशन दिएको परराष्ट्र अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement