गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ ।
गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो ।
गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको मस्यौरा प्रतिकिलो ३८० मा खरिद गरिदिने भएको छ ।
मूलाको सिन्की (गुन्द्रुक) प्रतिकिलो ४००, मूला सुकाएको चाना प्रतिकिलो रु ६०, बेसार सुकाएको चाना प्रतिकिलो २८५, कोदो प्रतिकेजी ३७ मा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै बोडी प्रतिकिलो १५०, ग्रेडिङ गरेको मकै ४०, खैरो भटमास र सेतो भटमासका लागि ७०-७० तथा खैरो गहतका लागि ९० गाउँपालिकाले मूल्य तोकेको छ । सङ्कलन गरिएका सामग्री सम्झौता गरेको संस्थाले बुटवल लैजाने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए ।




प्रतिक्रिया