काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छ । नेपाल पर्यटन बोर्ड र स्पा सङ्घ नेपालको आयोजनामा विश्व आरोेग्य दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले आगामी दश वर्षलाई आरोग्य दशकका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए।
मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताए। आरोग्य पर्यटन अध्ययनलाई होटल व्यवस्थापन प्रतिष्ठान नाथम मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । “पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, आजको विश्वले सबैभन्दा बढी खोजिरहेको विषय पनि खुसी हो । नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ”, उनले भने।
अन्तरराष्ट्रिय आरोग्यविज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको भन्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्वपूर्ण आधार बनाउनुपर्ने बताए । मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले जानकारी दिए। उनले स्पा आयुर्वेद जीवनशैलीसँग जोडिएको विषय भएकाले वर्तमान समयमा स्वस्थ जीवनशैलीका लागि यसको महत्त्व रहेको धारणा राखे ।




प्रतिक्रिया