काठमाण्डु – अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीन डिआईजी सर्वोच्च अदालत पुगेका छन् । बिहीबार बिहान मन्त्रिपरिषद बैठकले तीन डिआईजी वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु काकीले सर्वोच्चमा उजुरी दर्ता गरेका हुन् । त्यसअघि उनीहरूले लोकसेवा आयोगसँग छलफल गरेका थिए । आयोगसँगको छलफलपछि न्यायका लागि भन्दै सर्वाेच्च पुगेको डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।
वरीयताक्रममा आफुभन्दा कनिष्ठलाई एआईजीमा बढुवा गरेको भन्दै उनीहरूले लोकसेवा आयोगमा उजुरी दिएका थिए । उजुरीपछि छानबिन गर्दै समितिले बढुवा सिफारिसलाई नै सदर गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले आज बिहान तीन डिआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले तेस्रो वरीयताका डीआईजी पन्त, छैटौं वरीयताका सिंह र आठौं वरीयताका धानुकलाई एआईजी बढुवाका लागि १ चैतमा सिफारिस गरेको थियो ।
उक्त सिफारिसविरुद्ध तीनजना डीआईजीहरूले लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको उजुरी सुनुवाइ समितिमा उजुरी दिएका थिए । उजुरीउपर छानबिन गरी कैफियत नदेखिएको जवाफ दिएको थियो ।




प्रतिक्रिया