बढुवा भएका चार एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका चार एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी नायब महानिरीक्षक (डीआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा चार जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णयअनुसार उनीहरु पदोन्नती भएका हुन् ।

समारोहमा आइजीपी कुँवरले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गरी प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक बन्न आग्रह गरे ।

आइजीपी कुँवरले भने, “सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारी मनग्यै छन्, तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु ।”

आइजीपी कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै माथिल्लो विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए । साथै सम्भावित अराजकतालगायतका कानुनविरुद्धका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतलाई निर्देशनसमेत दिए ।

समारोहमा पदोन्नति भएकाको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यबोधको थप ऊर्जा प्राप्त भएको तथा सङ्गठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिबद्ध रहने विचार व्यक्त गरे ।

उनले सङ्गठनप्रति सदैव इमान्दार, बफादार र पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न गराउन सदैव कृत सङ्कल्पित रहने प्रतिबद्धता व्यक्त गरे ।