सशस्त्र प्रहरीमा निमित्त प्रमुखको जिम्मेवारी एआईजी थापाले पाए


काठमाडौं –सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी एआईजी नारायणबावु थापाले पाएका छन् । सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र सिमा विभाग प्रमुख समेत रहेका एआईजी पुष्पराम केसी सोमबार साताब्यापी भारत भ्रमणमा गएपछि थापालाई उक्त जिम्मेवारी दिइएको हो । सशस्त्र प्रहरीका पूर्व प्रवक्ता समेत रहेका थापा हाल मानवस्रोत विभाग प्रमुख समेत छन् । उनी सशस्त्रमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।

थापा एसएसपी हुंदासम्म वरियतामा दुई नम्बरमा थिए भने केसी एक नम्बरमा थिए । हालका आईजिपी खनाल तीन नम्बरमा रहेका थिए । तत्कालिन गृहमन्त्री विजय गच्छदारले उनलाई डिआईजी बढुवामा एक नम्बरमा बढुवा गरेका थिए । आईजिपी खनाल भारतिय बोर्डर सुरक्षा बल एसएसबीको निमन्त्रणामा भारतको राजधानी नयां दिल्ली गएका हुन् ।

उनले आफुसंगै एआईजी नारायणबावु थापा र एसएसपी नारायणदत्त पौडेललाई भ्रमण दलमा सहभागी गराउन नामावली गृहमन्त्रालय पठाएपनि मन्त्रालयले उनको प्रस्ताव फिर्ता पठाएको थियो । मन्त्रालयले सिमा सुरक्षा हेर्ने जिम्मेवारी पाएका एआईजी केसीलाई भ्रमणदलमा सहभागी गराएको थियो । केसी सशस्त्र प्रहरी महानिरीक्षक खनालसंगै आईजीपीको प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement