काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको उडानमा रोक लगाएको छ ।
शनिबार मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले उडानमा रोक लगाउँदै छानबिन समिति गठन गरेको छ ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एअरको ‘९एन–एएनजे’ हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो । हेलिकोप्टर चालक प्रकाशकुमार सेडाई घाइते भएका थिए । दुर्घटनालगत्तै हेलिकोप्टरमा आगलागी भएको थियो ।
घटनाको छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले तत्कालका लागि मनाङ एयरको ‘एयर अपरेटिङ सर्टिफिकेट (एओसी)’ निलम्बन गरेको छ । अर्को निर्णय नभएसम्मका लागि एओसी निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया