काठमाण्डु – भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एयर इन्डियाको दुर्घटनामा परेको छ ।
लन्डन ग्याटविक गन्तव्यका लागि उडेको एआई १७१ उडान नम्बरको विमान बिहीबार अहमदाबादमा दुर्घटनामा परेको हो ।
अहमदाबादको मेघाणी नगर क्षेत्रमा विमान खस्दा ठूलो आगलागी भएको पुष्टि गरिएको छ । एयर इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामा दुर्घटनाको पुष्टि गर्दै भनेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान एआई १७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ ।’
विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार रहेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेका थिए ।
उक्त जहाजमा १६९ जना भारतीय, ५३ जना ब्रिटीस ७ जना पोर्चुगिज नागरिक रहेको एयर इन्डियाले पुष्टि गरेको छ ।
हालसम्म कति मानिस घाइते वा मृत भए भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन ।
एयर इन्डियाले थप विवरण संकलन भइरहेको र अद्यावधिक जानकारी दिने बताएको छ । घट्ना भएपछि नागरिक उड्डयन मन्त्री राम मोहन नायडू किंजरापुले व्यक्तिगत रूपमा स्थितिको अवलोकन गरिरहेका छन् ।
यस्तै, उक्त विमानमा कोही पनि नेपाली नागरिक नरहेको दिल्लीस्थित नेपाली दूतावासले बताएको छ ।
प्रतिक्रिया