काठमाण्डु – भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको पुष्टि भएकोछ । एयर इण्डिया आफैंले यस विषयमा जानकारी दिएको हो ।
घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् ।
विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान खसेर आगो लागेको थियो ।
टाटा कम्पनीको स्वामित्वको सो विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्यहरु थिए । एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका ब्रिटिश नागरिक हुन् ।
यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको छ ।
यसबीच टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।
टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ।
प्रतिक्रिया