वायू प्रदुषणः कहिले खुल्छ काठमाण्डुको धुम्म आकाश ?

वायू प्रदुषणः कहिले खुल्छ काठमाण्डुको धुम्म आकाश ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वायु प्रदूषणले भिजिविलिटी कम हुँदा आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पूर्ण रुपमा प्रभावित भएको छ ।

भिजिविलिटी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहानै देखि प्रभावित बनेको हो । प्रदुषणका कारण बाक्लो तुवालो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल प्रभावित भएको टावर कन्ट्रोलले दिएको जानकारी दिएको छ ।

कन्ट्रोलका अनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै छ । आइतवार विहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जानकारी दिएको छ ।

कहिले खुल्छ धुम्म आकाश ?

तीन दिनदेखि काठमाण्डु उपत्यकासहित देशभरको आकाश धुम्म छ । नत घाम लाग्न नै सकेको छ, न पानी पर्न नै । दिउँसै अन्धकार छाइरहेको छ ।

धुवाँ धुलोको कारण अहिले काठमाण्डु प्रदूषित सहर बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क एक्यूआई ३०० भन्दा बढी हुनुलाई घातक मान्दछ ।

आइतबार काठमाण्डुसहित देशका अधिकांश सहरमा वायु प्रदुषण खतराको तहमाथि छ । वातावरण विभागको तथ्यांकअनुसार चितवनको सौराहामा एयर क्वालिटी इन्डेक्स ३६४ छ भने ललितपुरको भैंसेपाटीमा ३२१ छ । त्यस्तै भक्तपुरमा २८३, टियू कीर्तिपुरमा २६८, धनगढीमा २५७ र पोखरामा २३५ छ ।

काठमाण्डु वरिपरिका विभिन्न भागमा डढेलो लागेको कारणले पनि उपत्यकामा प्रदूषण बढेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताइन् । उनले यो तुवाँलो सोमबारसम्म रहने र मंगलबारदेखि केही खुल्ने बताइन् ।

शुक्रवार मध्यान्हपछि उपत्यकाको वायुमण्डल एकाएक धमिलो हुन थालेको थियो । यो क्रम आइतबार आज पनि रोकिएको छैन । स्वास्थ्यकर्मी र सरकारले अहिले नागरिकहरूलाई बाहिर विना काम ननिस्कन आग्रह गरिरहेका छन् । उनीहरूले अहिलेको प्रदूषणले स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका समस्याहरू निम्त्याउने भन्दै चेतावनी दिईरहेका छन् ।