पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे छानबिन गर्न संसदीय उपसमिति गठन

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे छानबिन गर्न संसदीय उपसमिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा निर्माणको छानबिन गर्न २ छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको छ ।

दुवै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी राय सहितको प्रतिवेदन पेश गर्न २ उपसमिति गठन भएका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरिएको छ ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार दुवै उपसमितिलाई महिना दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

पोखरा विमानस्थल निर्माण सम्बन्धी लिङ्देनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी छानबिन गर्न भट्टराईको संयोजकत्वमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी छन् ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर कसरी माग प्रस्ताव सुरु भयो भन्नेदेखि गुरुयोजना, लागत/ठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययन/छानबिन गरी राय सहितको प्रतिवेदन पेश गर्न उपसमितिलाई कार्यादेश दिइएको उनले जानकारी दिए ।