को थिए विमानस्थलमा ‘थ्रेट कल’ गर्ने व्यक्ति, जसले ‘वालेकुम सलाम’ भन्दै आफु मुस्लिम भएको परिचय दिए

को थिए विमानस्थलमा ‘थ्रेट कल’ गर्ने व्यक्ति, जसले ‘वालेकुम सलाम’ भन्दै आफु मुस्लिम भएको परिचय दिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल यात्रुहरुले भरिभराउ थियो । कतिपय यात्रुहरु उडानका तयारीमा थिए भने कतिपय टिकट काट्ने लाइनमा थिए ।

करिब १० बजेको समयमा विमानस्थलको टर्मिनल ड्युटी अफिसर (टीडीओ) कार्यालयको ल्याण्डलाइनमा फोन आयो । एक युवकले पाकिस्तानी नम्बरबाट फोन गर्दै विमानस्थलको आन्तरिकतर्फ बम राखिएको हल्ला फैलाए ।

फोन गर्ने व्यक्तिले लगातार भन्यो– तिमीहरुको आन्तरिक टर्मिनलमा ७ वटा बम राखिएको छ, दुइ घण्टाभित्र पड्किन्छ तुरुन्त खाली गर्नू । ‘तपाईं कहाँबाट को बोल्नुभयो’ भनेर प्रश्न गर्न नभ्याउँदै फोन राखियो र लगत्तै अर्को नम्बरबाट फोन आयो त्यही भनियो ।

ती युवाले विमानस्थलमा दुई पटक फोन गरेका थिए । उनले पहिलो फोन कल ९ : ४५ मा गरेका थिए भने दोस्रो ९ : ५१ मा गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । प्रवक्ता सिटौलाका अनुसार ती युवाले ‘वालेकुम सलाम’ भनेर कुराकानी सुरु गरेका थिए । उनले आफु मुस्लिम समुदायको भएको परिचय दिए  तर ती सबै कल नेपाल बाहिरबाट आएका थिए । उनले नेपालीमै बोलिरहेका थिए ।

उनले बम डिस्पोज गरेर देखाउन पनि फोन उठाउने कर्मचारीलाई चुनौती दिए । त्यसपछि विमानस्थल कार्यालयमा रहेका प्रहरी र विमानस्थल व्यवस्थापन सबैलाई तत्कालै खबर गरियो । विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले तत्कालै सबै यात्रुहरूलाई सुरक्षित बाहिर निकाले । साथै उड्ने तयारीमा रहेका जहाज पनि रोकियो ।

‘आन्तरिक टर्मिनलमा बम राखिएको भनेर पाकिस्तानी नम्बरबाट तीन पटक फोन आयो,’ विमानस्थलमा महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, ‘हामीले तत्कालै विमानस्थल खाली ग¥यौँ, उडान पनि रोक्यौँ ।’

त्यसपछि शुरू भयो बम खोज्ने कार्य । त्यसका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरियो । र सेना, प्रहरीसहित कुकुर पनि परिचालन गरियो । तर, बम भने कतै फेला परेन । शंकास्पद बस्तु केहि फेला नपरेपछि करिब डेढ घण्टापछि पुनः विमानस्थल सञ्चालनमा ल्याइएको महाप्रबन्धक ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले अवस्था सामान्य बन्दै गएको छ ।

फोन गर्ने अपरिचित व्यक्तिको मोबाइल नम्बरबारे अनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बम भनेर हल्ला फैलाउनेको खोजी भइरहेको बताए । उनले खोजतलासपछि कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको र स्थिती सामान्य भएको बताए ।