प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाल नियुक्त हुँदै

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाल नियुक्त हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त हुने भएका छन् ।

जेन जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्न लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले खनाललाई आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गर्ने निश्चित भएको छ’, स्रोतले भन्यो, ‘ आईतबार निर्णय हुन्छ होला ।’

तीन जना मन्त्री नियुक्त गरेर सरकार चलाइरहेकी प्रधानमन्त्री कार्की अहिले टिम बनाउने काममा सक्रिय छिन् । उनले मन्त्रिपरिषद सदस्यमा कसलाई नियुक्त गर्ने विषयमा छलफल गरिरहेकी छिन् ।

२५ वर्षदेखि पत्रकारितामा संलग्न खनाल उकालो अभियानका पूर्वनिर्देशक हुन् । उनी उकालो डटकम र अंग्रेजी दैनिक द हिमालयन टाइम्सका पूर्वसम्पादक पनि हुन् । उनले कान्तिपुर दैनिकमा पनि काम गरेका छन् ।

पत्रकारितामा उनीसँग नेपालका विभिन्न संस्थानहरूमा गरी २५ वर्षभन्दा बढीको अनुभव छ । साथै खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्र (सीइएसआइ) का अनुसन्धान सल्लाहकार पनि हुन् ।

पछिल्ला दुई वर्षदेखि उनी भ्रष्टाचार, दण्डहीनता, सुशासन र राष्ट्रिय सुरक्षासम्बन्धी चासोका विषयमा अनुसन्धान गरिरहेका छन् ।